Read in English here.
हामी नेपालीहरु अहिले एकदमै डरलाग्दो लूट (ठगी) को चक्रब्यूहमा फसेका छौं।
एकै छिन् यो घटनाको कल्पना गरौं।
“म हतारिदै काठमाण्डौंको दरवारमार्गमा आफ्नो जरुरी व्यापारिक भेटको लागि एउटा भावी ग्राहकलाई भेटन गइरहेको हुन्छु। मलाई ढिलो हुदैंछ। बाटोमा ट्राफिक पनि अलि तनावपूर्ण नै छ त्यसैले मैले ट्याक्सी चढ्ने निधो गर्छु। ट्याक्सी चालक हेर्दा अधबैंशे उमेरको देखिन्छ। हेर्दा नराम्रो मान्छे जस्तो पनि देखिदैन। तर उसले कृतिम मिटरमा राखेर मलाई ठग्ने निधो गर्छ ।
यस्तो नगरोस पनि किन! काठमाडौंको महंगीमा परिवार धान्नै अत्ति भैसक्यो, उन्को ट्याक्सी साहूलाई कमाओस नकमाओस ठोस रकम दिनहुँ बुझाउनै पर्छ अनि बचेको नाफा बाट परिवारको लागी रासन पानी किन्नै पर्यो। भनेपछि केहि त गर्नै पर्यो नाफा बढाउन, त्यसैले उसले मलाई मिटरबाट ठगेर बढि पैसा लिन्छ। म चुपचाप नुन खाको कुखुरा जस्तो भएर मनमनै रिसले चुर भएर बस्छु। आफू ठगिएको थाहा छ मलाई तर ठोस प्रमाण केहि नभएको कारणले केहि भन्न सक्दिन। मैले पैसा तिर्न त तिर्छु तर मलाई वाक्क लाग्छ र मनमनै उस्लाई धिक्कार्छु।
त्यहि साँझ, ट्याक्सी चालक आफ्नो चारजनाको परिवार बस्ने डेरामा जान्छ। अनि घरमा बुढी र छोरा छोरी कुरेर बसेकी हुन्छे। कोठामा जाँदाखेरि बाटोमै पर्ने किराना पसल अगाडि ऊ रोकिन्छ र राति खानको लागि (ठगेर कमाएको पैसाले) केहि खाना किन्छ। तर खानाको भाउ दिन पर दिन आकाश्शिएको देख्दा पसले दिदीलाई सोध्छ, “ए साहुनी, किन यसरी महँगो भा को हँ ? उत्तर आउँछ – भाई तराई बन्द भा भै छ, त्यसैले हो, तपाईँलाई त झनै थाहा होला नि” । ट्याक्सी चालकलाई थाहा छ बन्द-सन्द केहि छैन, यो त सिधा ठगी हो तर उसँग केहि प्रमाण नभएको हुँदा उ चुप्प लाग्छ। यता पसले साहुनी एकदमै मिहिनेती भए नि र आफ्ना ग्राहक कसैलाई ठग्ने मनसाय नभए नि अपसोच साहूनी पनि ठग्नै बाध्य ठान्छिन् । किन ठग्छिन् त त्यो ट्याक्सी चालकलाई ?
हेर्नुहोस, साहुनीको घरबेटीले जथाभावि घरभाडा बढाइरहन्छ त्यसमाथि उन्ले आफ्ना दुई बच्चालाई “बोर्डिङ्ग स्कूल”मा कुनै पनि हालतमा पठाउनै पर्छ चाहे त्यो सन्तानको उज्ज्वल भविष्यको लागि होस् वा आफ्नो छिमेकी भन्दा आफु के कम भन्ने अहमले नै किन नहोस् !
भोलिपल्ट ती साहुनी एक एक पैसा गरि जोडेका “दु:खको कमाई” बटुली आफ्ना बच्चाको स्कूल जान्छिन् र त्यहाँ मासिक शुल्क तिर्न थाल्छिन्। त्यहाँ उनी सोध्छिन, “होईन सर, किन यो स्कूलले शिक्षा यसरी शुल्क माथी यत्रो अरु थप ढाडै शेक्ने खर्चहरु जोड्नु भाको हँ?” उताबाट निर्दयी उत्तर आँउछ,” तपाईलाई थाहै छ, राम्रा शिक्षकहरु देशैमा राख्न गाह्रोछ, त्यस माथी यत्रो बढ्दो महङ्गी, अनि नया बल्क बनाँऊदै पनि छौँ तपाईँकै बच्चालाई भनेर – उ त्यहाँ हेर्नुहोस् कम्पुटरहरु थप्नै लाखौँ लाग्यो! बच्चैको भविष्यका लागि नै हो!” न्यास्रो अनुहार लगाई साहुनी जत्ति चित्त नबुझेपनि चुपचाप आफ्नो पैसो बुझाई लुखुरलुखुर पसल फर्किन्छिन्।
त्यस स्कूलका संचालक “मास्टर साब्” आफ्नो स्कूलबाट बिगतमा निकै राम्रो नाफा निकाल्न सफल पनि भएका थिए र उनी आफ्नो परिवारसंग काठमाडौँको महंगीमा पनि आरामदायी जिन्दगी बिताँउन सफल छन्। तर आजकल उनलाई पनि विधार्थीका अभिभावकहरुसंग अझ बढि पैसा थुत्न बाध्य बनाइएको छ। अब बाध्य नहुनु पनि कसरी !
आजकल उन् लाई दिउसैँ चन्दा आतंकले अत्याएको छ -कहिले प्रगतिशिल युवाहरुको नाममा त कहिले टोल बिकासको नाममा। महिना नसकिदैँ संघ-संस्थाहरुको नाममा अनि चाड पर्व आउना साथ ठुला ठुला राजनीतिक दलहरु र भात्री संगठनका नाउँमा चन्दा दिदाँ -दिदैमा वाक्क-दिक्क-प्याक्क भईसके मास्टर साब्। आजकल मोबाईल उठाउनै डर लाग्छ, “दे कि दे” भन्दै दिन रात सताउँछन् दिन्न भनेर मुख फर्काए – आफ्ना परिवार सहितलाई मार्ने नै धम्की दिने गर्छन्। उनि असाहय भएका छन्। केहि न केहि त गर्नै पर्यो भनिजुक्ति लगाउछन्! सबै भन्दा सजिलो, उनले अभिभावकहरुबाटै बढि भन्दा बढि पैसा थुत्नु भन्दा अरु बिकल्प देख्दैन। त्यसैले यिनले लुट्छन् आफ्नै बिधार्थीका अभिभावकहरुलाई। अझै नपुगेर, आँउदो शैक्षिक वर्षमा उनी अझबढी विधार्थीहरु भर्ना गर्न कस्सिन्छ। त्यसैले उनले आफ्नो स्कूलको भव्य रुपमा प्रचार गर्छन्। स्कूलको चरित्र राम्रो देखाउन थुप्रै नौटङ्की गर्छन – कसरी स्कुललाई ‘धमाकादार’ देखाउँ भनेर। अनुमान लगाउनसक्नुहुन्छ यिनले को सँग यसो गर्न निम्ति परामर्श पाइरहेका छन?
हो ! मै बाट जो एक परामर्श गर्ने व्यवसाय चलाउँछु!
अनि भन्नुहोस् दिनुहुँ ठगिई रहेको मैले पनि त यो स्कुल संचालकलाई ठग्छु नि होईन ? सानै मात्रा भए नि आफ्नो खर्च उठाउन त कोशिश गर्छु।
यो कथामा वास्तवमा को चाँहि ठगियो त?
पहिले म ठगिए। मलाई बारम्बार ट्याक्सी चालकले ठगे । अनि उसलाई बारम्बार तरकारी पसलेले ठगे । उसलाइ पनि बारम्बार स्कूल सन्चालकले ठगे जसलाई फेरी मैले नै ठगिरहेको छु। हो! यहि ठगीको चक्रब्यूहँ भित्र हामी सबै फसेको छौँ ।
हरेक दिन हामीमा दुविधा हुन्छ, “यस्तो ठगीको चक्रब्यूहँमा फसीँ रहुँ या त यसको अन्त्य गर्ने कस्सिऊँ”। यदि यसबाट निस्किने नै हो भने मैले (तपाईँले) आफैबाटै नै यो ठगीमा नलागी चक्रब्यूहँ टोड्ने प्रयास शुरु गर्नुपर्छ।
प्रश्न केवल यहि हो:
आजै देखि तपाँई यो लूटको चक्रब्युहँ तोड्न तयार हुनुहुन्छ ?
One thought on “लूटको चक्रब्युँमा फसेका छौँ हामी हरेक नेपाली !”