एउटा चलचित्र चलिरहेछ नजिकैको सिनेमा हलमा। यसको मुल कथा यस प्रकार छ :
“बिभिन्न गुण्डाका समुहहरुले पालै पालो एउटा गाँउ लूटिरहेका छन् । गाउँ यसरी बारम्बार निचोरिदाँ निचोरिदैँ मरणाय स्थितिमा पुगिसकेको छ। अहिले पनि यिनै गुण्डाहरु बीच कस्ले अहिले लूट्ने र कति बढि लूट्नेमा भन्नेमै भयंकर बिबाद चर्किराछ।
उता गाँऊलेहरु घुँडा टेकी टेकी हात जोडी जोडी गुण्डाहरुलाई नै गुहार गरिराछन् “हे प्रभु, अब त हाम्रो गाँउलाई छाडी देउ, हामी नाङ्गा भैसक्यौँ।” तर गुण्डाहरु उल्टै जाइ लाग्छन् “तँ को होस् र साले गधा, हामी सँग यस्तो माग राख्ने – चुप्प लागेर बस् तिमीहरु त भेडा हौँ हामीले जता डोहोरायो त्यतै जान्छस् बुझिस् !” अनि फनक्क फर्केर फेरि एक-आपसमा गाँउको भागबण्डाको मामलामा झगडा गर्न थाल्छन्। बिचरा लाचार गाँउलेहरु मनमा आगै बले पनि मुख भरि डर बोकी टुलुटुलु हेरि बस्छन् , केहि बर्बराउँदै छन् – “हे ३३ कोटी देव-देवीहरु तल आऊ र हामीलाई बचाऊ न – अब त हामीले सकेनौँ !”
फेरि चलचित्रको दृष्य बदलिन्छ । नया दृष्य देखिन्छ – यिनै गुण्डाहरुको समुह अझै भागबण्डाको झगडामा ब्यष्त छन्। अन्तिम घडिमा पनि आरोप- प्रत्यारोप चलिरहेकै छ। हुँदा हुँदा त तिनै बिचारा गाँउलेहरुले पनि अब अनुरोध गर्न थाल्छन् – “मिल्नुहोस् न तपाँईहरु – बिन्ती छ यसरी गाँउलाई अब अन्योलमा नराख्नुस न” । तैपनि सुने नसुने गर्दै “तँ तँ र म म” गर्दै गरेको देखेर गाउँलेहरु लामो सुस्केँरा हाल्दै बर्बराउँछन् -“यस्तै हो… के गर्ने … ?”
फेरि दृष्य बदलिन्छ –
“ओहो अचम्मै भएछ! सम्झौता गरेछन् यी लूटेरा समुहहरुले अन्तिम घडि आएर (जुन चाडैँ नै फेरि टुटाईहाल्छन् ईतिहाँस साँछी छ)। अनि अब यिनीहरु ताली बजाउदैँ नया सम्झौँता गाउँको माझ सुनाउँछन् ।
“गाँउले हो ! हामीले यो गाँउलाई बाच्न दिने निधो गर्यौ तर मात्र एउटा सर्तमा!
त्यो के हो भन्लास् – ल सुन् अब। हामी गुट क, ख र ग लाई पालै पालो एक एक बर्ष गरि यो गाउँ राज गर्न दिनैपर्छ तिमीहरुले। यसमा हामीलाई कसैले कुनै प्रश्न सोध्नेछैन। हामी कुनै किसिमले जवाफदेयी हुने छैनौ तिमीहरु नाथेसँग। यदि यो मान्दैनौ भने खबरदार ! यो पुरै गाँउलाई राख बनाएर छोडछौँ !”
गाउँलेहरु आफ्ना सुकुमार बच्चाहरुका अनुहार तिर हेर्छन्। विवश भएर लुथ्रुक्क घोप्टो परी लूटेराहरुको सबै माग स्विँकार्छन् । सबै मनमा यहि छ, “आफ्ना बाल-बच्चाको लाश देख्नु भन्दा त बरु यी सनकीहरुको दासै बन्नु बेस।”
गाँउमा एकछिनको लागि भने पनि शान्ति छाहन्छ । केही मुर्ख गाँउलेहरु त खुशीयाली पनि मनाउछँन् “आज ठुलो अनर्थबाट जोगियो”। अझ नतमस्तक हुदैँ धन्यवाद नै दिन जान्छन् तिनै लूटेराहरुलाई । के भन्ने !
तर धेरै जसो गाँऊलेहरु चाहिँ ओठ सिलेर बस्छन् -बेईज्जती अनुहार भरि छाएको छ।
अब चलचित्रको अन्तिम दृष्यमा पुग्छौँ हामी :
लुटेरा टोली “क” ले गाउँ माथि राज गरिराछ, तर पर्दा पछाडी गुण्डा टोली “ख” र “ग” ले सत्ताच्युत गर्न भयानक षडयन्त्र रचीराछन् । बिस्तारै दृष्य तिनै बिचरा गाउँलेको अनुहारमा ठ्याक्क पुग्छ – हरेक अनुहारले यहि अनुभुति दिईरहेको छ “के म अर्को बर्ष बाँच्छु होला? ”
यसैमा फिल्मको अन्य हुन्छ। हल भित्र चारैतिरबाट दर्शकहरु थपडी माथी थपडी, वाह माथी वाह थप्छन्। यस्तो दर्दमय कहानीले सबैको मन छुन्छ। कसैलै त चिच्याँउछ- “यो फिल्म त अवश्य हिट हुन्छ यार ! अर्कोले थप्छ “तर यस्तो कहानी यथार्थमा त कहाँ हुन्छ र, फिल्म न पर्यो !”
एकछिन् ! यथार्थमा यस्तो हुँदैन रे ?
के तपाँईलाई यो कहानी हाम्रो नेपालको कहानी जस्तै लागेन भन्या? अहिलेको नेपालको वास्तविकता पनि यहि नै होइन र? यदि यो तर्क मान्नुहुन्छ कि यो नेपालको वास्तविकतामा आधारित कहानी हो भने हामी पनि टुलुटुलु हेरि बस्ने हो त कहानी भित्रका गाँउलेहरु जस्तै ? कि अब हामीले नेपालको यस्तो कहानीको अनत्य फेर्ने हो ?
“कहाँ सकिन्छ र” भन्नु भन्दा तल पढ्नुहोस् है।
हेर्नुहोस् हाम्रो देशको परिस्थिति बदल्न केवल मन भए पुग्छ। २५०० बर्ष अगाडि हाम्रै गौतम बुद्धले गरि देखाई सकेका छन् भने अहिले हामी किन यसरी अक्मकाईराछौँ भन्या ! यदि महात्मा गान्धी र मदर टेरेशाले छिमेकी भारतमा बकैदा सँग देखाई सके भने हामी के कारणलाई कुरि रा? अनि उत्तरमा चीनका देङ् जावोपिङ्गले करोडौँ चीनियालाई गरिवीको भुमरीबाट समृद्धि तिर धकेले भने तपाँई हामी केकालाई कुरिराछौँ ! यदि उनीहरुले गरेर देखाए भने तपाई-हामीले पनि त अवश्य सक्छौँ !
हो, अहिले हामी सबै डराएका छौँ, दिक्क भा छौँ र आफ्नो आत्मसम्मान नै छानाबाट खस्या जस्तो लागी राछ होला। तर जुन दिन हामी यो डरलाई सामना गर्छौँ त्यो दिन देखि हामीमुक्त हुनेछौँ र जीतको बाटोमा हिडँनेछौँ।
त्यसैले यो लडाँई आजै शुरु गरौँ । यहाँ तल केहि बाटोहरु लेखेको छु शायद तपाँईलाई यो संघर्ष शुरु गर्न मद्दत मिल्छ कि!
-
तपाईँ अद्वितिय हुनुहुन्छ । त्यसैले आफ्नै अद्वितिय तरिकाबाट अगाडि बढि रहनुहोस्। अनि कुनै समुहमा पनि आफ्नो अद्वितिय नेतृत्व दिनुहोस् । सफलता तपाँईले सोचेभन्दा नजिक छ ।
-
कुनै पक्ष लिन वा बदल्न नडराउनुहोस् तर आफ्नो अन्तरआत्माको बिपरित गएर चाहिँ होईन नि। मन बदल्नु प्राकृतिक हो।
-
आफ्नै ईस्ट र मित्रहरुलाई पनि आफ्ना बिचार र कामकारवाही ले जित्न कोशिश गर्नुहोस्। यदि यसैमा फेल खानु भो भने बाहिरका हुललाई कसरी विश्वासमा लिन सक्नुहुन्छ? आफ्नैलाई रिझाउनु नै सबैभन्दा गाह्रो खुडकिलो हो हाम्रो संघर्षमा।
-
लेख्नु, अझ लेख्नु, धेरै लेख्नु ! (पहिले प्रतिक्रिया लेखेर, त्यसपछि अलि ठुलो अनि अझ ठुलो समस्याकै हल दिने तर्कहरु लेख्नुहोस्। तपाईँको कलमले सोचे भन्दा धेरैलाई धेरै समयसम्म प्रेरणा दिन्छ। यसरी नै आफुलाई सक्षम नेतृत्वको बाटोतिर अझ धकेल्नु।
-
यदि तपाईँ बिधार्थी वा अनुसन्धानकर्ता हुनुहुन्छ भने यसो आफ्नो समाजका बारेमा ठोस अनुशन्धान गर्नुहोस् न। उदाहरणको लागि- गाँउको स्थानिय निकायले के कति नागरिक उजुरीलाई वेवास्था गरिराछन् र किन? वा स्थानिय टोले क्लबले कसरी खर्च गरिराछन् र के मा? अनि यस्ता अनुशन्धान सुझाब सहित बकैदा ईन्टरनेटबाट फैलाउनुहोस् संसार भरि नेपाली माझँ। ठुलो ठुलो आँट्नु तर सानो-सानो जीतबाटै सुरु गर्नु !
-
आफुलाई जे कुरामा परिवर्तन चाहिएको छ , त्यसबारे एउटा सानो जमात बनाईहाल्नुहोस् । यदि गाँउको भविष्यको बारेमा पिर छ भने गाँउको भविष्य सोच्ने जमात बनाउनुहोस् । सफा नेतृत्व वा सफा टोल? सफा वातावरण वा सफा मन ? जे भए नि मन मिल्ने मान्छेहरु बटुलेर एउटा अभियान शुरु गरिहाल्नुहोस्। समाज बदल्न उसको पुच्छर पकडेर होईन टाउको समातेर डोह्राउनु पर्छ ।
-
आफ्नो बाटोमा अडिग रहनु। एक-एकलाई परिवर्तन गर्दै अगाडि बढ्नु, त्यो ठुलो जमात त ढिलो चाडोँ पछि लागी नै हाल्छ, अहिल्यै किन आत्तिनुहुन्छ। अनि यस्तो संरचना बनाउनुस् जसमा परिवर्तन खोज्ने अरु साथीहरु पनि सजिलै हाम्फाल्न सकुन्। आफुलाई देशभक्त ओसार्ने पूल सम्झनुस्।
-
यदि नेतृत्व अाफै लिन सक्नुहुन्न भने विवेकशील नेतृत्व गरि रहेका जो कोहिको पछि जोशले लाग्नुस् है। हेरक सफल नेतृत्वको शुरुवात पछाडि एउटै लागि पर्ने समर्थकको अविश्मरणीय हात हुन्छ।
त्यसो भए साथी,तपाईँले आजै बाट के गर्दै हुनु हुन्छ त यो देशको कहानी फेर्नको लागी?