सार्वभौम सदस्य, सेवक नेतृत्व

सुसंस्कृत राजनीतिका लागि ६ सांगठानिक नवीनताहरु:


दल बने त देश बन्छ, होईन र? दल लोकतान्त्रिक नभए के देश विधिको शासनमा चल्ला? दल भित्र संस्कार नरहे के देशलाई सुसंस्कारयुक्त बनाउलाँ सकिएला? २१ औँ शताव्दी अनुरुपको लोकतन्त्र धान्ने राजनीतिक दल नै कसरी चल्नु पर्छ, के कुरालाई महत्व दिनुपर्ला? कस्तो नेतृत्व चुन्ने ( र फिर्ता बोलाउने) प्रणाली राख्नु पर्ला?

विगतका केही महिनादेखि देशको लागि चाहिने राजनीतिक दलको संरचनामा चाहिएको २१औँ शताव्दी समयसापेक्ष सुधार, आधुनिकरण र संघीयकरण तर्फको सुधारमा हामी अत्यन्त व्यस्त रहेका छौँ। यसै अनुरुप रोल्पाको लिवांगमा भर्खरै विवेकशील नेपाली दलले राष्ट्रिय नीति सम्मेलनमा देशभित्र मात्र होईन, विश्वभरबाटै प्रत्यक्ष सहभागितामूलक लोकतन्त्रको उपयोग गरी सफलतापूर्वक निम्टाएको छ।

हामीले दलको संघीय संरचनालाई २१ सताव्दी लोकतन्त्र सापेक्ष बनाउन आधारभूत कैयौँ महत्वपूर्ण निर्णयहरु लियौँ जुन आगामी दिनमा देशभरिकै राजनीतिक र समाजिक संस्कार परिवर्तन गर्न एक कोशेढुंगा हुने विश्वास लिएका छौँ। साथै यस पद्धतिबाट आगामी कार्तिकमा दलभित्र उच्च नेतृत्वहरुलाई प्रत्यक्ष निर्वाचित गर्न जनकपुरमा राष्ट्रिय सम्मेलनका गर्ने जमर्को पनि लिएका छौँ।

 मूलत: तपाईं सामु हामीले गरिरहेका नेपालका लागि ६ नवीन लोकतान्त्रिक प्रयोगहरुबारे बताउन चाहेँ।

१) अब आधा आकास ओगेटेका महिलाहरूलाई पनि सम्मिलित गरी बनेको महिला-मैत्री दल: हामीले दलकै सबैभन्दा उच्चतम् नेतृत्व (पदाधिकारीहरु) मै कम्तीमा ५०% (आधा) महिला नेतृत्व सुनिश्चित गरेका छौँ। जसरी महिला र पुरुष मिलेरै नेतृत्व गरी एउटा परिवार बनाउँछन्, त्यसरी नै देशको नेतृत्व बनाउने राजनीतिक दलभित्र पनि यस्तै अवधारणा ल्याउनु जरुरी ठानेका छौँ। यसरी अबका आउँदा पलहरुमा देशका निर्णयहरु आधा आकासले मात्र होइन पूरै आकाशले ढाकेको नेतृत्वहरुले गर्दै जानेछन् हाम्रो नेपालमा। जसबाट विश्वमै उत्कृष्ट उदाहरण पनि बन्न सक्नेछौँ हामी। विकसित देशको देखासिकी होइन, उनीहरुले नै देखासिकी गर्ने पूर्ण आकासले भरिएको नेतृत्व प्रणाली बनाउने प्रयासमा छौँ।

२) विवेकशील नेपाली हाँक्ने नेतृत्वहरु अहिले पनि ५ मा ४ जना ४० वर्ष मुनिकै छन्। अझ युवा मैत्री र युवा सान्दर्भिक अथवा २१ औँ शताव्दी सापेक्ष बनाउन भरखरै मताधिकार प्राप्त १८ देखि २१ उमेर समूहका मूलत: अध्ययनरत युवाहरुको आवाज सुनियोस् भनी मत चाहिँ दिन पाउने तर कुनै पनि सार्वजनिक निकायमा उम्मेदवार चाहिँ हुन नपाउने १८ लाख जना १८ देखि २१ वर्ष मुनिका युवाहरुको लागि हामीले दलकै संघीय (केन्द्रीय़) देखि स्थानीय तहका समितिसम्ममा सिधै नेतृत्व गर्ने मौका मिलोस् भन्ने ठानी केही स्थान सुनिश्चित गरेका छौँ। १८ देखि २१ का युवाहरु नै किन भनी सोध्नुहोला? यो महत्वपूर्ण समूह नेपालको जातजातिसँग तुलना गर्ने हो भने यो नेपालको पाचौं ठूलो समूह बराबरी हुन जान्छ, क्षेत्री, पहाडे ब्राह्मण, मगर र थारु पछि। र यस समूहको नेपाली राजनीतिमा प्रत्यक्ष सुनवाइ र सहभागिता खासै रहन्न। हामीले युवालाई ‘युवा अघि सर्छ, देश अघि बढ्छ,’ नारामा मात्र सीमित राखेका छैनौँ।


३) नेपालको विविधता नै यसको उत्कृष्टता हो। त्यसैले संविधानको समावेशिताको सिद्धान्त अनुरुप झण्डै ५ मा ३ जनालाई दलको निर्णय गर्ने ठाउँहरुमा समावेश गर्न पनि निधो गरेका छौँ। विभिन्न भूगोल (प्रदेश), समुदाय, लिंङ्ग र उमेर लगायत अपाङ्गता भएका उत्कृष्ट व्यक्तिहरुलाई देशको नेतृत्व गर्ने स्थानमा पुर्याउने हेतुले समावेशी संयन्त्रलाई हामीले प्रत्यक्ष सहभागितामूलक लोकतन्त्रबाट सिधै सदस्यबाट निर्वाचित हुने माध्यमहरु खुल्ला गरेका छौँ। यो आवश्यक भयो किनकि समावेशितालाई पनि दुरुपयोग गरी नातावाद स्थापना गर्न चाहने कुसंस्कारलाई प्रत्यक्ष सदस्यले जिताउने र फिर्ता पनि बोलाउन पाउने अधिकार सार्वभौम आम सदस्यमै निहित राखी अघि बढेका छौँ। 


४) देश संघीय गणतन्त्र भैसक्यो तर देश चलाउने राजनीतिक दलको संरचना त्यसतर्फ गएको छैन। जसरी देशको संघ, प्रदेश र स्थानीय सरकार एक आपसबीचको समन्वय, सन्तुलन र सह-अस्तित्व स्वीकार्दै अघि बढिरहेछन्, त्यसरी नै देश बनाउँछु भन्ने सबै दलहरु पनि यसरी नै चल्नु पर्ने होइन र ? हाम्रो दलभित्र घनीभूत छलफल यस विषयमा महिनौँदेखि चल्दै आएको थियो । दललाई पनि संघीय संरचना अन्तर्गत बनाउन हामी प्रतिवद्ध भएका छौँ। प्रदेशले पनि संघीय विधान अनुरुप आ-आफ्नै निर्देशिका, नियम, वा कानुन (प्रादेशिक विधान सरह) बनाउन पाउने सिद्धान्त पनि अघि सारेका छौँ। स्थानीय तहमा पनि यही गर्न सकिने गृहकार्यमा छौँ। सुसंस्कृत राजनीतिले यसरी नै अरु दललाई पनि “पोजिटिभ भाईरस” जस्तै गरी संक्रमण गर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।


५) आउँदो निर्वाचनमा झण्डै ३ मा १ नेपाली प्रवासमा (विदेशमा) हुने प्रबल सम्भावना छ। “नोट चल्ने तर भोट नचल्ने” कुसंस्कृत प्रथा, नेपाली लोकतन्त्र र वृहद् समृद्धि अनि सबैको समवृद्धि (समतामूलक वृद्धि) को लागि सबैभन्दा घातक सावित हुनेछ। त्यसको लागि हामीले समग्र प्रवास (नेपाल बाहिर) लाई एक छुट्टेै प्रदेश सरहको संरचनाको मान्यता दिन सक्नुपर्छ । नत्र लोकतन्त्र सहभागितामूलक बन्दै बन्दैन, त्यसमा नेपालीको स्वामित्व सिमित हुन्छ। अब विवेकशील नेपाली दलभित्र प्रवासमा नेतृत्व गरिरहने सार्वभौम नेपाली नागरिकहरुले पनि दलको संघीय पदाधिकारी र समितिहरुमा सिधै नेतृत्व गर्ने मौका पाउनेछन्‌। संघीय गणतन्त्रमा अब नेपाल चलाउँछु भन्ने कुनै पनि राजनीतिक दलमा अब प्रवासमा बसेका नागरिकहरुले पनि प्रतक्ष सहभागी हुदैँ देश बिकासमा चाहिने विवेकशील निर्णयहरु लिन कुनै कसर बाँकि राख्नु हुन्न र विवेकशील नेपालीले यसको शुरुवात गरेको छ।  

६) अहिलेको नेपालमा अभ्यास गरिरहेका प्रतिनिधिमूलक लोकतन्त्रले धेरै हदसम्म उही पूरानै निरासाजनक नतिजा निरन्तर ल्याईरहेको देखिरहेका छौँ।  प्रतक्ष सहभागितामुलक लोकतन्त्रको सदुपयोगबाट हामीले दलमा सेवक नेतृत्व र सार्वभौम सदस्यको परिकल्पना गरेका छौँ जहाँ सदस्यले सिधै नेतृत्व चुन्छन्‌ र मन नपरे सिमित समयपछि उनलाई र समस्त नेतृत्व टोलीलाई नै फिर्ता पनि बोलाउन सक्ने विधिको बिकास गरेका छौँ। यसबाट दल सदैव उसको सदस्यहरुको स्वामित्वमा रहन्छ र सामुहिक विवेकमा चल्छ। यसले समन्वयकारी सामुहिक नेतृत्वको बिकास गर्छ न कि करिश्मावाला एकल नेतृत्व पद्दतिलाई।

नेतृत्व भनेकै पूर्व तयारी पनि हो भन्ने हेतुले आफैंले पनि थप ज्ञान हासिल गर्न म डेढ महिना जतिको लागि संयुक्त राज्य अमेरिकामा अध्यनरत हुनेछु। त्यहाँ स्टानफोर्ड विश्वविद्यालयमा लोकतन्त्र, विकास र विधिको शासन सम्बन्धि फेलोसिप अन्तर्गत विश्वभरिबाट आएका उत्कृष्ट नेतृत्व (परिवर्तनकर्ताहरु) माझ र विश्व विख्यात राजनीतिशास्त्री फ्रान्सिस फुकायामा, ल्यारी डायमण्ड, क्याथरिन स्टोनर लगायतसँग तपाईं हामीले नेपालमा गरिरहेका नवीन अनुसन्धानका अनुभव बाँड्ने मौका अवश्य लिनेछु। र त्यहाँबाट अनुभवहरु पनि म तपाईंहरू माझ बाँड्ने नै छु। यसबारे केही सल्लाह सुझाव भए अवश्य दिनुहोला है।

अब एक्काईसौँ शताव्दी सापेक्ष सुधार गर्दै मार्ग पहिल्याउन राजनीतिक संगठनभित्रै रुपान्तरण हुन सके मात्र नेपालको रुपान्तरण हुनेछ । नत्र यत्रो गुरुहरुका भूमि रहेको हाम्रो राष्ट्र गुरु हुनुको सट्टा गोरुमै सीमित हुने डर छ।

यसको एक सारंश नेपाली राष्ट्रीय दैनिक नयापत्रिकामा पनि पढ्नुहोला।